परराष्ट्रमन्त्रीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेट, विकासमा बाँस र निगालोको भूमिकाबारे छलफल

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन् ।
उक्त अवसरमा उनले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताए । उनले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आजै परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकसँगको दुई पक्षीय बैठकमा भाग लिए । उनले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गरे ।

भेटवार्तामा उनीहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आजै आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीसँग भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा दुई मुलुकबीच व्यापार र लगानीका विषयका थप क्षेत्रहरू खोजी गर्ने र दुवै मुलुकका राम्रा अभ्यास साझेदारी गर्ने समझदारी बनेको जानकारी दिइएको छ ।

त्यसैगरी परराष्टमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र सङ्घको उपमहासचिव अमिना मोहम्मदसँग भेटवार्ता गरे । उनीहरूबीच संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली र महासचिवको सुधार प्रक्रियामा नेपालले दिनसक्ने योगदानको विषयमा छलफल भएको बताइएको छ ।

पराष्ट्रमन्त्री ज्ञवालीलाई इन्टरनेशनल नेटवर्क फर बाम्बु एण्ड ¥याटनका महासचिव डा हान्स फ्रेडरिखले नियोगको कार्यालयमा भेट गरे । उक्त अवसरमा दिगो विकासका लागि बाँस तथा निगालोको भूमिकाका विषयमा छलफल भएको जानकारी दिइएको छ ।