राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धमा पुनरवलोकन

काठमाडौ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन् ।

सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तमा आधारित रहेको छ ।

यसै आधारमा भ्रमणमा नेपाल तथा चीनबीचका सम्बन्धका सबै पक्षमा पुनरवलोकन हुने र सम्बन्धको प्राथमिकतामा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए ।

सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) को आरम्भ यही वैशाख १३ मा भई वैशाख १४ मा संयुक्त घोषणापत्र जारी हुनेछ । यसबीच उच्चस्तरमा छलफल हुनेछ र नेताहरूको गोलमेच बैठक बस्नेछ । बैठकका क्रममा वाणिज्य, भौतिक पूर्वाधार र महिला क्षेत्रका मन्त्रीस्तरीय बैठक पनि हुनेछन् ।

सो मञ्चमा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्र सङ्घका साथै अनेकौँ अन्तरराष्ट्रिय तथा क्षेत्रीय संस्थाले भाग लिने भएका छन् । सो भेलामा उच्चस्तरीय बैठक, विषयगत मञ्च तथा व्यापारिक प्रमुख कार्यकारी अधिकारीको सम्मेलन आयोजना हुनेछ । सम्मेलनको प्रमुख विषय ‘बेल्ट एण्ड कोअपरेशन शेपिङ अ ब्राइटर शेयर्ड फ्युचर’ (साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न क्षेत्र र मार्ग) रहेको छ ।

सचिव वैरागीले भेलामा बिआरआईलाई पूर्वाधार विकासमा लक्षित गरिने, रेल र मार्गसहित अन्तरहिमालय बहुआयामिक सञ्जालमा जोड दिइने र जनताबीच सम्बन्ध स्थापना गरी छिमेकमा बहुपक्षीय आर्थिक फाइदा प्राप्त गर्ने विषयमा केन्द्रित हुने जानकारी दिए । उनले बिआरआईबाट नेपाललाई भूमिमार्फत अन्य मुलुकका भूमिसँग जोड्न सहयोग पुग्ने उल्लेख गरे । नेपालको उत्तरी छिमेकी चीनसँग एक हजार ४१४ किमीको सीमा जोडिएको छ ।