कस्तो बन्दै छ नेकपा पोलिटब्युरो ? उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस

काठमाडाैं । जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ ।

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताबीच सहमति छ । पूर्वएमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना पोलिटब्युरो सदस्य भागबन्डामा परेको छ । जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ ।

पूर्वएमालेबाट सचिवालय र स्थायी समितिमा रहेका नेता केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुभाष नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल, रघुवीर महासेठ, अमृत बोहरा, केशव बडाल र पुष्प कँडेल स्वतः पोलिटब्युरो सदस्य हुँदैछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।