बारा–पर्साका हुरीपीडितलाई साढे पाँच लाखको घर

काठमाडाैं । सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पूर्ण क्षति भएका एक हजार चार सय ५३ घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सबै घर निर्माणका लागि करिब ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सेनालाई उपलब्ध गराउने निर्णय भएको छ । सेनाले वर्षाभित्र घर निर्माणका लागि आवश्यकताअनुसार गैरसैनिक जनशक्ति पनि प्रयोग गर्ने तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।