सहरमै भाषण गरेर छाउ प्रथा हट्ला ?

पार्वती साउद

छाउपडी प्रथा परापूर्वकालदेखि चलिआएको समाजमा व्याप्त कुसंस्कार हो । यो कुसंस्कारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र नभई सिंगो देशभरी नै जरा गाडेर बसेको छ । प्रायः हिन्दू धर्मप्रति आस्था भएका मान्छेहरू छाउ बार्ने गरेका छन् । रजश्वला तथा सुत्केरी भएको समयमा छुदा देवीदेउता रिसाउँछन्, पाप लाग्छ भन्ने अन्धविश्वास छ । तिनै अन्धविश्वासका कारण छाउपडी प्रथाले बढावा पाउँदै छ भने महिला पीडाको सिकार हुँदैछन् ।

सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र मध्यपश्चिम लगायतका ग्रामीण भेगमा मात्र होइन, नेपालभरी नै छाउ प्रथा कायमै छ । तर, सुदूरपश्चिम र कर्णाली प्रदेश मा मात्रै यो प्रथा कायम छ भन्ने गरिएको छ । त्यसमा कुनै सत्यता छैन । राजधानीमै यो प्रथाले जरा गाडेर बसेको छ । फरक यत्ति हो की सुदूर र कर्णाली प्रदेशमा यसलाई जटिल रूपमा लिइन्छ । छाउपडी भएका बेला महिलालाई घरभन्दा टाढा अलगै राखिन्छ । तर, यतातिर घरभित्रै यो प्रथाले जरा गाडेको छ । भित्रभित्रै निकै विभेद गरिन्छ । कोहीकोही यो प्रथालाई मान्दैनन्, प्रायः अधिकारकर्मी, पत्रकार, शिक्षित वर्ग, जान्नेसुन्ने अगुवाले पनि मान्दै आएका छन् ।

सुदूरपश्चिममा छाउ भएका बेला महिला छाउगोठमा सुत्ने गर्छन् । जाडो महिनामा त्यही छाउगोठमा सुतेका बेला आगो बाल्ने र तातो भएर निदाउँछन् । त्यही आगाको धुवाँका कारण बाजुरामा ३५ वर्षीया महिलासहित उनीसंगै रहेका २ जना छोराको निसास्सिएर मृत्यु भएको घटना अनि छाउगोठमा सुतेकै बेला अछाममा पनि महिलाको मृत्यु भएको घटनाले मात्रै व्यापकभएको हो । धेरैजसो ठाउँमा महिनावारी भएको महिला चार दिनसम्म एउटा कोठाको विस्तारा मात्र प्रयोग गर्ने गरेको हामीले देखेका छौं । घरभित्र तथा बाहिर जताततै हिँडडुल गरे पनि आफ्नो घरमा रहेको भगवान नछुने, पानी नछुने यो क्रियाकलाप निरन्तर चार दिनसम्म हुने गरेको पाइन्छ ।

महिनावारी र सुत्केरी भएको बेला घरमा भएका कुनै सरसामान छुन हुदैन भन्ने अन्धविश्वास त कायम छ । यो समयमा कसैलाई छुन नहुने घरदेखि टाढा बनाइएको सानो झुप्रोमा बस्न लगाइन्छ । सुत्केरी महिलालाई २२ दिन र महिनावारी भएको महिलालाई ९ दिनसम्म घरदेखि टाढाको झुप्रोमै बस्न लगाइन्छ । यस्तै, यो क्षेत्रमा महिनावारी भएका बेला दुध–दही खान नहुने र भाडाकुडा छुँदा देवीदेउता रिसाउने अन्धविश्वास छ । महिनावारी भएका महिला र सुत्केरी महिलाले आफ्नो सरसफाइमा जतिसक्दो ध्यान दिनुपर्ने साथै पर्याप्त मात्रामा पोषिलो आहारा खुवाइ आराम गराउनुपर्ने कुरा बुझेका छैनन् । हुनेखाने शिक्षित, सम्पन्न र सभ्य परिवारका छोरीबुहारी समेत महिनावारी भएको बेला घरमा पालिने गाईभैँसीको दूध–दही खान हुँदैन भन्ने गरिन्छ र दिइँदैन पनि । महिनावारी भएका महिलाले घरमा पालिने गाईभैँसीको दूध–दही खाएमा गाईभैँसीले दूध दिन छोड्ने गर्छन् भन्ने अन्धविश्वास रहेको छ ।

परम्परादेखि नै चल्दै आएको कुप्रथा र जनविश्वासका कारण महिनावारी भएका महिलालाई छोएका खण्डमा अशुद्ध भएको भनेर गाईको गहुत खुवाउने, सुनपानीको छोइछिटो हालेर शुद्ध भएको मानिन्छ । कुनै महिलाले परम्परागत कुसंस्कारलाई लत्याएर जथाभावी छुइछाई गरेमा घरका कूलदेउता रिसाउने र परिवारमा नोक्सानी पुगेको भनेर धामी–झाक्रीकहाँ लैजाने, खालका अन्धविश्वास मान्दै आएका छन् ।

घरदेखि टाढा झुप्रोमा बसेर आफ्नो ज्यानलाई दाउमा राखेर कुनै छोरीबुहारीलाई रहर छैन, यो सब कुसंस्कारका कारण नै हो । यही छाउप्रथाकाकै कारण विभिन्न ठाउँका महिला छोरीबुहारी बलात्कार हुने, सर्पबिच्छी, लामखुट्टे लगायतका विषालु किराले टोकेर मर्ने लगायतका घटना विभिन्न समाचारका माध्यमबाट सुन्नमा आउँछन् ।

छाउपडी प्रथा जस्ता कुरीतिविरुद्ध जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियानन थालिएका होइनन् । तर, यस्ता अभियान प्रभावकारी हुनै सकिरहेका छैनन् ।

छाउपडीको नाममा संघसंस्था खोल्ने अभियानकर्ताले नै आफ्ना घरका छोरी, बुहारी, श्रीमती आफ्ना आफन्तहरू महिनावारी हुँदा बार्ने गरेका पनि छन् भने यो अभियान कसरी निर्मूल हुन्छ । तिनै संघसंस्था चलाउनेका मानसिक नै छुनुहुँदैन, अलग बस्नुपर्छ भन्ने छ भने त्यस्ता संस्थाको के अर्थ ? जबसम्म संस्थापकको मानसिकताले महिनावारीलाई सामान्य रूपमा लिनुपर्छ भनेर बुझदैनन्, तबसम्म यो प्रथा कायम नै हुन्छ । यदि परम्परादेखिको कुरीतिलाई सामान्य रूपमा लिन सकिरहेको छैन भने घरमा त व्यवस्थित तरिकाले बस्न लगाएपछि कमसेकम छाउगोठमा यसरी ज्यान गयो भनेर समाचारको हेडलाइन त नबन्ला ।

यस्ता समाचारले कति निराश भइन्छ । घृणा लागेर आउँछ, जुन परिवारले महिनावारी भएको छोरीबुहारीलाई घरदेखि टाढाको झुप्रोमा बास बस्न पठाउँछ, घृणा लाग्छ ती संघसंस्था देखेर जसले छाउपडी उत्थानका लागि भनेर पैसा कमाउँछन् । छाउपडीका कार्यक्रम ल्याएर गाउँगाउँ जान नसक्ने शहरको कुनै होटेलमा कार्यक्रम गरेर प्रभावकारी हुँदैन संस्थापक महोदय । यस्ता घटना हुन नदिन अथवा नदोहोरिनलाई गाउँबस्ती मागएर छाउपडीका बारेमा जनचेतना जगाएपछि परिवर्तन अवश्य हुन्छ । राजधानीबाट बोलेर र भाषण गरेर मात्र न त छाउप्रथाको अन्त्य हुन्छ न छाउ बार्नेको मानसिकतामा केही परिवर्तन नै हुन्छ ।