म्युजरले गरायो टिकटकरको भेट

काठमाडौं  । टिकटकमा चर्चित प्रयोगकर्ताहरू शनिबार सुकेधारास्थित एक क्याफेमा भेला भए । सँधै टिकटकमा एकअर्काका प्रस्तुति हेरेर रमाइरहेका उनीहरूबीच प्रत्यक्ष भेटघाट र अन्तर संवाद गराएको हो, नेपाली म्युजरले ।

नेपाली म्युजर दुई वर्षदेखि टिकटकमा सक्रिय छ । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिँदै आएको छ । टिकटक प्रयोगकर्ता बीच आत्मीयता स्थापना गर्न ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए ।

नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरूले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारे प्रतिक्रिया दिएका थिए । कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए ।