दिपायल–सिलगढी नगर साक्षर

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका नौवटै वडाका स्थानीय साक्षर भएको भन्दै वडा साक्षर घोषणा गरिएसँगै पूरै नगरपालिकालाई आज साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ७८ प्रतिशत नागरिक साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, ‘हाम्रो नगरपालिकामा ९६.७८ प्रतिशत नागरिक साक्षर भएकाले हामीले साक्षर नगरपालिका घोषणा गरेका हौँ ।’

नगरपालिकाका सम्पूर्ण वडालाई शनिबार एकै दिन वडावडामा कार्यक्रम आयोजना गरी साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख मञ्जु थापाले जानकारी दिइन्। जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले नगरपालिकालाई जिल्लाको पहिलो स्थानीय तहका रुपमा साक्षर घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी भएको र सोचेअनुसार प्रतिफल नआइरहेको भन्दै शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने बताए ।