नामाकरण र राजधानीको विषयमा नागरिक आन्दोलन झन कडा

धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव बहुमतले पारित भएसँगै धनगढीमा जारी असहमतिको आन्दोलन झन चर्किँदै गएको छ । प्रदेश सभाको निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज संघर्ष समितिले शनिबारबाट गरेको आम हड्ताललगायतका आन्दोलन आइतबारबाट थप शसक्त बनाइने नागरिक समाजले जनाएको छ ।

नागरिक समाजले आज धनगढीमा विरोध सभाको आयोजना गर्दै आन्दोलनका कार्यक्रमलाई आइतबारबाट थप शसक्त बनाउने घोषणा गरेको हो। संघर्ष समितिका संयोजक हरि रेग्मीले प्रदेश सरकारको निर्णय अब्यवहारिक र जनभावना विपरित भएको बताउँदै जनभावनाको कदर नभएसम्म आन्दोलन फिर्ता नहुँने बताए ।

यस्तै नेपाली कांग्रेसका सांसद डिल्ली राज पन्तले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी तोकिएकोप्रति आपत्ति जनाए । सरकारले बल मिचाई गरेर बहुमतको दम्भ देखाएर गैर लोकतान्त्रिक चरित्र प्रस्तु गरेको पन्तको आरोप छ ।

बिरोधसभामा बोल्दै कांग्रेस कैलाली क्षेत्र नम्बर पाँचका सभापति हरिश खड्काले सरकारको यो दम्भ धेरै दिन नटिक्ने बताए । उनले यसको हिसाब किताब जनताले गर्ने बताएका छन् । सरकार केन्द्रदेखि प्रदेशसम्म तानासाहि बन्दै गएको आरोप लगाउँदै गोदावरी राजधानी कुनै पनि हालतमा स्वीकार्य नहुँने जिकिर उनले गरे । भोलीबाट आन्दोलनको आधिभेरी नै ल्याइने र सरकार जनता सामु घुँडा टेक्न बाध्य हुने उनले दावी गरे ।

क्षेत्र नम्बर पाँचकै सचिव भिम पडालले आन्दोलनलाई सफल बनाउँन सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । अस्थायी राजधानी धनगढी तोकेर यहाँ तमामौ भौतिक संरचना बनिसकेको अवस्थामा फेरी तेघरी त्यो पनि जंगल फाडेर राजधानी बनाउने कुरा आफुहरुलाई स्वीकार्य नहुने उनले बताए ।

वन माफियाहरु र भूमाफियाहरुलाई फाइदा पुग्ने गरी चुरे विनास गर्ने उद्येश्यले गरिएको निर्णय आम धनगढीबासीलाई मान्य नहुने पडालको दावी छ । गोदावरीमा राजधानी बनाउँदा जंगलमात्रै फडानी गर्नुपर्ने छैन, चुरे क्षेत्रसमेत जोखिममा पर्ने यस क्षेत्रका बासिन्दाको चिन्ता छ ।