सेल्फी लिँदा भारतमा तीन जनालाई रेलले किच्यो

सेल्फीका कारण सबैभन्दा बढी मृत्यु पनि भारतमै

नयाँदिल्ली । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेका थिए । त्यहीबेला हुइकिएर आएको रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको थियो ।
ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए । मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए ।

गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।