आर्सनलको भ्यालेन्सीयामाथी पुनरागमन जित

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनलले भ्यालेन्सियामाथी पुनरागमन जित निकालेको छ । बिहिबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस ला लिग क्लब भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गर्दै पुनरागमन जित निकालेको हो ।

आर्सनलको जितका लागि एलेक्जेन्डर लाकाजेट्टीले २ तथा पियरी एम्रिक अबुमियाङले एक गोल गरे । यता भ्यालेन्सियाका लागि मोक्टार दिखावबीले एक गोल गरे । खेलको ११ औं मिनेटमा भ्यालेन्सियाका मोक्टारले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, अग्रता भने धेरै समय टिक्न सकेन् । त्यसको ७ मिनेट नबित्दै एलेक्जान्डरले गोल गर्दै खेल बरारबीमा ल्याए । उनले खेलको १८ औं मिनेटमा अउबामेयाङको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका हुन् ।

त्यस्तै खेलको २५ औं मिनेटमा पुनः एलेक्जान्डरले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा एम्रिकले गरे ।

उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई ३-१ को जित दिलाए । आर्सनलले अवे खेलमा अर्को बिहिबार भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।