समुद्री आँधी फानी: कस्तो असर पारिरहेको छ?

प्रतिघण्टा दुई सय किलोमिटरको बेगमा हावा र वर्षासहित आएको एउटा शक्तिशाली आँधीले भारतको पूर्वी तटीयक्षेत्रलाई नराम्ररी प्रभावित पारेको छ।

फानी नामक उक्त आँधी हालैका वर्षमा त्यो क्षेत्रमा आएको आँधीमध्येको विध्वंसात्मक हो।

भारतको पूर्वी राज्य ओडिसामा १० लाखभन्दा बढी मानिसहरूलाई घरबाट अन्यत्र लगिएको छ।

एकजना सरकारी अधिकारीका अनुसार आँधीका कारण दुईजनाको ज्यान गइसकेको छ।

आँधीपछि कैयौं क्षेत्रमा बाढी आएको पनि खबरहरू छन्। ८५८ वर्ष पुरानो जगन्नाथ मन्दिर रहेको पर्यटकीय पुरी नगर पनि प्रभावित भएको छ।

आँधी शनिवार मत्थर हुँदै जानुअघि भारतको गरिबमध्येको एउटा राज्य ओडिसाका १५ वटा जिल्लामा असर पुर्याउने ठानिएको छ।

यो आँधीका कारण थुप्रै रेल र हवाई सेवा स्थगित भएको छ भने विद्यालय र सरकारी कार्यालयहरू बन्द भएका छन्।

भारतको उत्तरी तटमा रहेका तीनवटा बन्दरगाह पनि बन्द गरिएका छन्।

नौसेनाका युद्धपोत र हेलिकोप्टरहरू राहत सामग्री र औषधिहरूसहित तयार अवस्थामा रहेका छन्।

देशको राष्ट्रिय विपद् सम्बन्धी निकाय न्याश्नल डिज्यास्टर रेस्पोन्स फोर्सले पनि उक्त क्षेत्रमा थुप्रै टोलीहरू खटाएको छ।

भारतको विपद् व्यवस्थापनसम्बन्धी निकायले तटीय क्षेत्रमा अवस्था निकै खराब भन्दै त्यहाँ नजान मानिसहरूलाई सचेत गराएको छ।

आँधी शनिवार मत्थर हुँदै बांग्लादेशको चित्तगोङतर्फ जाने ठानिएको छ।

उक्त आँधीले बांग्लादेशमा पनि बाढीको समस्याहरू ल्याउन सक्ने बताइएको छ। कोक्स बजारको बन्दरगाह सहरमा शिविरहरूमा रहेका हजारौं रोहिंज्या शरणार्थीहरूलाई पनि सतर्क हुन भनिएको छ।

तर आँधीले आफ्नो दिशा परिवर्तन नगरेसम्म ती शिविरहरूमा असर नपर्ने ठानिएको छ।