नागरिकता लिएका भारतीय कराेडाैँ राजस्व छलेर फरार

वीरगन्ज । विगतमा नेपाली नागरिकता हात पार्न सफल भएका दुई भारतीय नागरिकले बेग्लाबेग्लै घटनामा नेपाल सरकारको करिब १८ करोड रुपैयाँ राजस्व रकम लएर फरार भएका छन्। यसमध्ये एकजनालाई आन्तरिक राजस्व कार्यालय वीरगन्जले बक्यौता असुलीका लागि खोजिरहेको छ भने अर्का एकजनालाई जिल्ला अदालत पर्साले करिब दुई करोड रुपैयाँ भराउने र एक वर्ष कैद सजाय तोकेको छ।

पहिलो घटना विवरणअनुसार जनकपुर उपमहानगरपालिका साबिकको वडा नम्बर २ घर भएकी बबिता गुप्ताको बिहे भारतको पूर्वी चम्पारण जिल्लामा भएर कानुनी रुपमा उनले भारतीय नागरिकता लिइन्। यताको नेपाली नागरिकता पनि लोग्नेको परिवारले त्याग्न दिएन। उनकै नाममा वीरगन्जमा देवर मुकेश गुप्ता र पति कृष्णाकुमार गुप्ताले मोहिनी इन्टरप्राइजेज नामको फर्म दर्ता गराई कोइला आयात गरेर बेच्ने थाले। तीन वर्षअघि कृष्णाकुमारको मृत्यु भयो। त्यसपछि फर्मको कारोबार देवर मुकेशले सञ्चालन गर्दै आएका थिए। तर उक्त कम्पनीले आय कर र मूल्य अभिवृद्धि कर (भ्याट) तिरेन।

आन्तरिक राजस्व कार्यालय वीरगन्जले ठूलो रकम बक्यौता भएका करदाताकौ रुपमा खोजी गर्दा मोहिनी इन्टरप्राइजेजका सञ्चालक देवर भाउजू फरार भइसकेका थिए। गत आर्थिक वर्षको समाप्तिसँगै कार्यालयले उनीहरुलाई खोज्न थालेको हो, अहिलेसम्म भेटेको छैन। गत चैत २८ सम्ममा उक्त फर्मको बक्यौता १६ करोड ५ लाख छ। आठ करोड ४८ लाखभन्दा बढी भ्याट र करिब सात करोड ५७ लाख आयकर बक्यौता देखिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।