निर्मला हत्याको छानबिन प्रतिवेदन मन्त्रिपरिषद्‌मा छलफलपछि सार्वजनिक गरिने : गृहमन्त्री थापा

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफल पछि सार्वजनिक गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले उच्च स्तरिए समितिले प्रतिवदेन बुझाइ सकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताएका छन् ।

गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए । उनले जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दाबी गरे ।

यस्तै उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन् । उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्ने बताए।

मन्त्री थापाले विगतमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको भन्दै सरकारले शान्ति सुरक्षाको अनुभूति दिएको बताए ।