‘प्रसङ्ग’ बहुभाषिक राष्ट्रिय त्रैमासिक पत्रिकाको लोकार्पण’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कला र संस्कृतिको माध्यमबाट सबै दललाई एकै ठाउँमा ल्याएर समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान र संस्कृति विभाग अनुसन्धान, उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीको आयोजनामा आयोजिक ‘प्रसङ्ग’ राष्ट्रिय त्रैमासिक पत्रिकाको लोकार्पण एवं कार्यपत्र प्रस्तुत कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताएका हुन्।

‘प्रसङ्ग’ संस्कृत, नेपाली र अंग्रेजी गरी तीन भाषामा लेखिएको पत्रिका हो। पत्रिकामा एउटै जनाको लेखलाई तीन भाषामा राखिएको छ। यसरी तीन भाषामा पुस्तक प्रकाशन गर्नु निकै सर्हानिय कार्य रहेको अध्यक्ष तिमिल्सिनाले बताए। ‘यसले विभिन्न भाषा सिक्ने अवसर पनि प्राप्त हुन्छ’, तिमिल्सिनाले भने, ‘यस्ता गतिविधिले नयाँ पुस्तालाई संस्कृतिको बारेमा पुस्तानान्तरण गर्नसमेत टेवा पुग्‍छ।’

नेपाल सांस्कृतिक रुपमा धनी रहेपनि पछिल्लो सयम संस्कृतिको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले संस्कृतिकै माध्यमबाट नेपालमा पर्यटन भित्र्याउन सकिने सम्भावनासमेत रहेको बताए। उनले यस किसिमको पत्रिका नेपालमै पहिलो भएको बताए।

यस्तै पत्रिकाका प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले संकृत भाषाको जगेर्ना, नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुग्ने भएकाले यसरी तीन भाषामा पत्रिका प्रकाशन गरिएको बताए। उनले तीन-तीन महिनामा प्रकाशन हुने यो पत्रिकामा कुनै न कुनै विशेष विषयलाई उठान गरिने जानकारी दिए। उनले यो अंक संस्कृति विशेषांक बनाइएको बताए।

पत्रिकामा संस्कृत भाषाको सम्पादन डा. रामप्रसाद पौडेलले गरेका छन् भने अंग्रेजी भाषा सम्पादन डा. देवराज पनेरुले गरेका छन्।

यस्तै सोही कार्यक्रममा मनीषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रुपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज शिर्षकको कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन्।