प्रदेश राजधानीबारे असन्तुष्टि आकासियो, कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित

धनगढी । प्रदेश राजधानी तोकिएको स्थानबारे असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस र राजपाका सांसदको अवरोधका कारण आजका लागि बोलाइएको सात नम्बर प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ ।

कांग्रेसको अवरोधपछि आइतबारका लागि बोलाइको बैठक असोज १६ गते सम्मका लागि स्थगित गरिएको हो । कांग्रेसले विधि र पद्धति मिचेर गोदावरीलाई राजधानी तोकिएकोप्रति आपत्ति जनाउदै अवरोध गरेको थियो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे १ बजे मात्र सुरु भएको थियो । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष कांग्रेसले गोदावरी नगरपालिकाको जंगलमा प्रदेशको राजधानी तोकेको भन्दै विरोध जनाएको थियो । कांग्रेसको अवरोधपछि सहमतिका लागि प्रयास गरिए पनि सफल नभएपछि बैठक स्थगित भएको हो ।

कांग्रेसले आफ्नो उपस्थितिबिना गरिएको निर्णय मान्य नहुने बताइको छ । नागरिक समाज यसको बिरोधमा छ । धनगढीमा शनिबारदेखि अनिश्चिकालीन बन्द गरिएको छ । दसैंको पूर्व संध्यामा बन्दले धनगढीको जनजीवन नराम्ररी प्रभावित भएको छ ।