‘मेरो जीवन ईश्वरको वरदान’

ललितपुर । अल्छी लाग्दा ढिलैसम्म सुत्ने र बिउँझिसकेर पनि ओछ्यानमै किताब पढ्ने बानी भएका शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार भने अलि चाँडै उठ्नुप-यो। उमेरले शताब्दी चुम्ने दिन भएकाले उनले आँखा खुलेपछि केही बेर ओछ्यानमै रहेर जीवनबारे चिन्तन गरे।

आफू ओछ्यानमा हुँदै शुभकामना दिन आउनेहरूको भीड लागिसकेका कारण उनले अरू दिनको तुलनामा चाँडै उठ्नुपरेको थियो। यसकारण आफ्नो जन्मोत्सव मनाउने ऐतिहासिक दिनको आरम्भ उनका लागि पहिलाभन्दा पृथक् बन्न पुग्यो। बिहान ६ बजेतिर सत्यमोहनको घरअगाडि आँगनमा उनीसहितका बूढापाकाले ‘नाम संंगीति भजन’ पाठ वाचन गरे। त्यसपछि उनले पाहुनाले सगुनका रूपमा ल्याइदिएका कोसेलीसँगै चिया पिए।

त्यति बेलासम्म बिहानको ६ः३० बजिसकेको थियो। घरबाहिर उनलाई शुभकामना दिन आउने स्थानीय, आफन्तजन र अन्य शुभचिन्तकको भीड बढ्दै थियो। उपस्थित हुनेहरूले उनलाई पालैपालो शुभकामना दिँदै गए। करिब ८ बजेतिर राष्ट्रपति कार्यालयबाट आएका प्रेस सल्लाहकार माधव शर्मा र शिव भट्टराईले राष्ट्रपतिले पठाएको शुभकामना सन्देश पढेर सुनाए। ९ बज्दासम्म उनलाई शुभकामना दिन आउनेको लस्कर घटेको थिएन। यो समाचार आजको नागरिक दैनिकमा छ ।