कुवेतबाट पनि ‘मेगा रेमीट’ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।

अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले विश्वास गरेको छ ।

अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्ने बैंकले जनाएको छ । साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीले रकम पठाउन सक्ने मेगा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालीले कुवेतबाट पठाएको रकम मेगा बैंक र बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बताइएको छ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको बैंकको भनाइ छ ।