एमबाप्पेको दुई गोलमा पिएसजि विजयी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा डिजोनमाथी फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितका लागि युवा स्टार खेलाडी केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै एन्जल डि मारिया र एडिन्सन काभनीले समान एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै एन्जल डि मारियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेट नबित्दै उरुग्वेका फरवार्ड इडिन्सन काभनीले गोल गर्दै पिएसजीलाई २-० को अग्रता दिलाए । त्यस्तै खेलको ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई ३(० को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा एमबाप्पेले खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए ।

तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका एमबाप्पे दुई गोल गर्दै गोल्डेन बुट दौडको नजिक पुगेका छन् । उनी गोल्डेन बुट दौडमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा २ गोलले पछाडी छन् । मेस्सीले ३४ गोल गर्दा एमबाप्पेको ३२ गोल रहेको छ । पिएसजीले अझै एक खेल खेल्न बाँकी रहेकाले एमबाप्पेको गोल्डेन बुट दौड अझै बाँकी रहेको छ ।