भारतमा आज अन्तिम चरणको निर्वाचन सम्पन्न

नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान सम्पन्न भएको छ ।

देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भएको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित नौ सय १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएको बताइन्छ ।

यस चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिटका लागि मतदान भइरहेको छ भने पश्चिम बंगालका नौ सिटका लागि मतदान भइरहेको छ ।

त्यसैगरी बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आइतबार निर्वाचन सकिए पनि मतपरिणाम भने यही मे २३ तारिखदेखि मात्रै सार्वजनिक हुने जनाएको छ । भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रुपमा लोकसभाको निर्वाचन भएको छ ।