नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्छन्, तर कसरी?

बिबिसी । भारतमा आइतवार लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान हुँदैछ। छिमेकी देशमा भइरहेको निर्वाचनबारे नेपालमा पनि धेरैको चासो देखिएको छ।

आइतवार अन्तिम चरणको मतदान भएपछि मे २३ तारिखमा निर्वाचनको मतपरिणाम घोषणा हुँदैछ। कसले जित्ला त निर्वाचन?

यसै परिप्रेक्ष्यमा भारतीय राजनीतिमा दखल राख्ने नेपाली पत्रकार युवराज घिमिरेसँग बीबीसी नेपाली सेवाका शरद केसीले कुराकानी गरेर भारतीय राजनीति र यो निर्वाचनका विविध आयाम बुझ्न खोजेका छन्।

लामो समय भारतमा पत्रकारिता गरेका देशसञ्चार अन्लाइन पत्रिकाका सम्पादक घिमिरे यस पटक भारतीय निर्वाचनको रिपोर्टिङ गर्न नेपालसँग जोडिएको बिहार राज्य गएका थिए। प्रस्तुत छ घिमिरेको आकलन –

मैले पहिलेका चुनावको पनि रिपोर्टिङ गरेको थिएँ। अहिलेको चुनावमा मतदाताको मनस्थिति जाँच्न गाह्रो जस्तो पर्‍यो।

हुन त पहिले पनि चरणबद्ध चुनाव त हुने गरेका थिए। यस पटक सात चरणमा पाँच हप्ता लामो चुनावका क्रममा एउटा क्षेत्रमा चुनावी माहोल देखिन्छ। त्यसैसँग जोडिएको क्षेत्रमा तीन हप्तापछि चुनाव छ। त्यहाँ केही पनि माहोल देखिन्न।

तर जनताको राजनीतिक नाडी छाम्न सक्ने भनेर कतिपय मान्छेहरू मानिन्छन्। सामान्यता उनीहरूले अनुमान पनि सत्यनजिक हुन्छन्।

त्यस्ता मान्छे विभिन्न दलहरूमा पनि हुन्छन्। उनीहरूसँग कुरा गर्दा चुनावपछिको परिदृष्यको एक किसिमको आकलन गर्न सकियो।

ती विश्वसनीय स्रोतहरूसँग कुरा गरेपछि निर्वाचनबाट फेरि पनि नरेन्द्र मोदीकै सरकार बन्नेमा म निकै आश्वस्त छु।

हुन त सत्ताधारी प्रतिको विकर्षण र असन्तुष्टिको पक्ष पनि हुन्छ। तर पनि मोदी किन अघि छन् भन्ने कुरालाई दुई-तीनवटा पक्षसँग जोडेर हेर्नुपर्ने हुन्छ।

एउटा – मोदी नेतृत्वको गठबन्धन विरुद्धको भारतीय कंग्रेस नेतृत्वको गठबन्धनका नेता राहुल गान्धीले त्यति परिपक्व हिसावले मोदीलाई टक्कर र चुनौती दिन सकेनन्।

दोस्रो- २३० वटा क्षेत्रमा कंग्रेस चुनाव लडेको छ। त्यसले गर्दा गठबन्धनभित्र पनि कंग्रेसको नेतृत्व पक्का भएको देखिन्न।

तेस्रो – अर्को धारमा विभिन्न क्षेत्रीय र प्रान्तीय राजनीतिक दलहरूको गठबन्धन छ। भारतीय मतदाता प्रजातन्त्र र सुशासनको मामिलामा अभ्यस्त छन्। उनीहरूले सम्भवत: ती प्रान्तीय र क्षेत्रीय गठबन्धनले दिल्लीमा शासन गरून् भन्ने चाहना राख्दैनन्।

भारतीय चुनावको दौरानमा मोदीले भयको वातावरण पनि सृजना गरेका छन्। त्यसको निम्ति उनले ‘भारतमा आक्रमण हुनसक्छ तर सुरक्षाप्रति नेताहरू उत्तरदायी छैनन्’ भन्दै कंग्रेसलाई लक्षित गर्दै उनीहरूले सेनालाई पनि निश्शस्त्र बनाउँछन् भन्ने सन्देश फैलाएका छन्।

त्यसकारण म मात्रै हो मुलुकको सुरक्षालाई सुनिश्चितता गर्ने भन्ने उनको नाराले पनि धेरै काम गरेको जस्तो लाग्छ।

त्यहाँ करिब १४ प्रतिशत सङ्ख्यामा रहेका मुस्लिम अल्पसङ्ख्यकहरूमा भारतीय जनता पार्टी (भाजपा) ले आफूलाई सम्मान दिँदैन भन्ने डर छ।

विभिन्न घटनाहरूले पनि त्यस्तो भएको छ। त्यति हुँदा हुँदै पनि उनीहरूको दिमागमा मोदीको विकल्पमा कसलाई भोट दिने भन्ने कुरा सुनिश्चित भइसकेको देखिएको थिएन।

त्यो त्रासलाई मोदीविरुद्धको प्रचारको रूपमा युट्युब र समाजिक सञ्जालमार्फत् प्रयोग गर्न खोजिएको छ। तर भाजपाको प्रचार असाध्यै सङ्गठित छ।

दु:खद पक्ष के भने चुनावी अभियान र प्रचारका क्रममा एकअर्काविरूद्ध प्रयोग हुने भाषा, शैली र अभिव्यक्ति त्यति गरिमामय देखिएन।

विगतको चुनावसँग तुलना गर्दा त्यसलाई विचलन भन्न सकिन्छ।

जस्तो बिहारको बेगुसरायबाट कन्हैया कुमार उठेका छन्। असाध्यै चर्चित छन्।

त्यो क्षेत्रमा फिल्म कलाकारहरूदेखि भारतका एकदमै नाम चलेका धर्मनिरपेक्षताका अभियानकर्मी लागेका छन्।

मोदी आउँदा उनीहरूलाई लागेको खतरा मुलुकले के भोग्छ भन्ने त्रास त छ।

तर त्यसले भोट सुनिश्चित गर्दैन। जनमानसलाई कन्हैया कुमारकै पक्षमा ढालेर उनले ठूलो मतान्तरले जित्छन् भन्ने कुरा सुनिश्चित गरेको देखिएन।

राम मन्दिर बनाउने कुरा त सन् १९८९ देखि लगातार चुनावी मुद्दा बनेको छ।

त्यसलाई हिमाञ्चल प्रदेशको पालमपुरमा भएको भाजपाको राष्ट्रिय कार्यकारीको बैठकले लालकृष्ण आडवाणी नेतृत्वको चुनावी अभियानको मुद्दा बनाएको हो।

त्यसले धार्मिक ध्रुवीकरण गर्न सकेको छ। इन्दिरा गान्धीको हत्यापछि सन् १९८५ मा असाधारण स्थितिमा चुनाव भएको थियो।

त्यो बेला दुई सीट ल्याएको भाजपा बहुमतको सरकार बनाउने स्थितिमा पुग्नुमा राम मन्दिरको मुद्दाको ठूलो भूमिका छ।

त्यसैले राम मन्दिरको निर्माणले भाजपाको मुद्दा खोस्छ। त्यसो भएर त्यसलाई जीवित बनाइराख्नु उसको राजनीतिक र चुनावी रणनीतिक बाध्यता बनेको छ।

चुनावमा पार्टीले राम्रो गर्न सकेन भने नेतृत्वलाई उत्तदायी बनाउने प्रयास हुन्छ। आन्तरिक बहस त चल्छ। भाजपाले नराम्रो गर्‍यो भने त्यो अवश्य पनि उठ्छ। जस्तो कंग्रेसमा पनि तयारी देखिन्छ।

चुनावमा राहुल गान्धीको नेतृत्वमा पार्टीले नराम्रो गर्‍यो भने नेतृत्वविरुद्ध आवाज उठ्छ। र, परिवारबाट नेतृत्व नजाओस् भनेर प्रियङ्का गान्धीलाई अगाडि ल्याइएको छ। प्रजातान्त्रिक पार्टीमा त्यस्तो हुन सक्छ।

भाजपामा जसरी पार्टी अध्यक्ष अमित शाहलाई आडवाणीले प्रतिनिधित्व गर्ने गान्धीनगर क्षेत्रबाट उठाइयो, नेताहरू राजनाथ सिंह र नीतिन गडकरीलाई पार्टीको दुई नम्बरमा यो मान्छे हो भन्ने सन्देश दिन खोजेको जस्तो लाग्छ।

तर भाजपाको सन्दर्भमा परिस्थितिसँग त्यो सोच त्यति मिल्दैन जस्तो लाग्छ। मोदीको विकल्प खोजि हाल्ने अवस्था आउला जस्तो लाग्दैन।