जनतालाई महंगी, कर्मचारीलाई बोनस

काठमाडौं । कर्मचारीलाई बेला बेलामा बोनस खुवाउने प्रयास गरिरहेको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने प्रयास थालेको छ । दुई साता नपुग्दै मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गर्दै निगमले मुल्य बढाउने संकेत गरेको हो ।
भाऊ फेरि बढाउने बतावरण बनाउन निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिलाई कारण देखाउँदै मासिक घाटा बढेको बताएको छ ।

भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ लाख घाटा भएको निगमको दाबी छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको भनिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो छ । जसका कारण भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने गरेको छ । यसको नियन्त्रणमा भने सम्बन्धित निकाएको ठोस योजना छैन ।