फस्टाउँदो अरिङ्गालको ब्यापार

जमुना वर्षा शर्मा/बेनी । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् ।

लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै आएकी हुन् । उनलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन्।

म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोेलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार ५०० मा खरीद गर्दै आएकी हुन् । शुरुमा त दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने एक हजार ५०० सय मानामा पाउने गरेको उनी बताउँछिन् । सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट ५०० बेच्छिन् । अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उनकोे भनाइ छ ।

होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ? भनी सोध्दा उनी भन्छिन् । ‘यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।’ सिर्जना भन्छिन, शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो ?’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।

‘अहिले त काठमाडौं र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पु¥याउने सकेकी छैन ।’ उनी भन्छिन् । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्छिन् । ‘विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।’ उनी भन्छिन्, ‘अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।’

अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छन् । ‘एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खाजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।’

गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउँछन्। ‘अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ’ अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उनको अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ । उनी भन्छन् ‘अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्ने सकिन्छ कि !’