एक दशकमा २ सय ९१ बलात्कारका घटना

चितवन । विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ।

एक वर्षमा कम्तीमा एकदेखि बढीमा २५ वटासम्म करणीका प्रयास भएको उजुरी परेको पाइन्छ। चालु आवको १० महिनामा जिल्लामा करणीका ४४ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। वैशाख मसान्तसम्मको यो अवधिमा जबर्जस्ती करणी उद्योगका नौवटा घटना प्रहरीमा दर्ता भएका छन्। गत आवमा जबर्जस्ती करणीका ५५ घटना भएका थिए। जुन पछिल्लो १० वर्षको अवधिमा भएका घटनामध्ये सबैभन्दा बढी घटना भएको वर्ष हो।

सो अवधिमा जिल्लामा जबर्जस्ती करणी उद्योगका २३ वटा घटना भएको प्रवक्ता रेग्मीले जानकारी दिए। आव २०७३/७४ मा भने जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगका २५ घटना प्रहरीमा दर्ता भएका थिए। आव २०६६/६७ मा भने १४ वटा बलात्कारका घटना मात्र प्रहरीमा दर्ता भएका थिए। प्रहरीमा दर्ता भएका सबैजसो मुद्दा फछ्र्योट भएका छन्। चालु आवमा ४४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएकामा ४० वटा फछ्र्योट भइसकेको प्रहरी कार्यालयले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।