निर्मलाको हत्या पत्ता लगाउन माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकि १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द आह्वान गरेको छ ।

नेविसंघको बन्दका कारण महेन्द्रनगर बजार बन्द हुनुका साथै महेन्द्र नगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बन्दले शिक्षण संस्था समेत प्रभावित बनेका छन् । बन्द कर्ताले सरकारी वकिलको कार्यालयमा समेत तोडफोड गरेका छन् ।

नेविसंघका कार्यकताहरु विहानैदेखि महेन्द्रनगर बजार तथा राजमार्गको चोक–चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुका साथै निर्मलाको हत्यारा चाडो भन्दा चाडो पत्ता लगाउन माग गरे । उनले आज ७ बिहान बजेदेखि बेलुका ५ बजेसम्म यातायात, बाजर र शिक्षण संस्था बन्दको घोषणा गरिएको जानकारी दिए ।

नेविसंघले सोमबार पनि जिल्लाका सम्पूर्ण शिक्षण संस्था बन्द गराएको थियो । आजको बन्द सकिएपछि थप छलफल गरेर आन्दोलनका अन्य कार्यक्रम घोषणा गरिने नेविसंघले जनाएको छ ।

बन्दका कारण दशैं तिहारका लागि भारतका विभिन्न ठाउँबाट घर फर्किने यात्रुहरु महेन्द्रनगरमै अलपत्र परेका छन् ।