सरकार विरुद्ध शिक्षक महासङ्घ

काठमाडौं । नेपाल शिक्षक महासङ्घ सरकार विरुद्ध आन्दोलित भएको छ । सरकारले शिक्षकका संस्था र सरकारबीच विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रिनुपरेको महासंघले जनाएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकारी दिए ।

महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ ।