प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्रीको सपथमा सहभागी हुन बिहीबार भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुने बताएका छन् । त्यसबा लागि ओली बिहीबार दिउँसो भारत जाँने उनले बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’ बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जनाए ।

उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने पनि जिकिर गर्दै भने, ‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ ।

भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । उनले भने, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’

भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ ।