जनयुद्धका घाइतेले भने : के यीनै हुन त हाम्रा क्रान्तिका महानायक

काठमाडौं । जनयुद्ध तथा जनआन्दोलनका घाइते योद्धाहरुको व्यवस्थापन सरोकार संघर्ष समितिले सरकारले गिरफ्तार गरेका आफ्ना साथिहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् । उनीहरुले सरकार समक्ष सक्छौ न्याय देउ, नभए अपाङ्ग र घाइतेहरुलाई प्रहरी हिरासतमा लिएर अन्याय नगर्न आग्रह गरेका छन् ।

संघर्ष समितिका संयोजक युवराज विकलगायत ११ जना घाइते तथा अपाङ्गता भएका जनयुद्धका योद्धाहरुलाई गत जेठ १२ गते गृहमन्त्रालयमा कार्यदलको बैठकबाटै फरक मत राखेको आरोपमा गिरफ्तार गरिएको थियो ।

सो संघर्ष समितिकी सदस्य जुम्लाकी इन्दु न्यौपानेले आफ्ना जीवनसाथी लगायत ११ जना सहकर्मीलाई ‘द्वन्दका घाइते तथा अपाङ्गता दिगो ब्यवस्थापन समिति’ कार्यदलको संयोजक गृह मन्त्रालयकी सह–सचिब इन्दु घिमिरेसंग कार्यदलको बैठक बसिरहेको अवस्थामा संयोजक विक र अन्य सकर्मीहरुलाई गृहमन्त्रालयको ठाडो आदेशमा गिरफ्तार गरिएको बताइन् ।

दैलेखका नरवीर दमाइले विगत साढे एक वर्षदेख आफूहरु राज्यसँग न्युनतमरुपमा भरणपोषण र औषधी उपचारको लागि माग गर्दा उल्टै कष्टडी हुल्नु गैर जिम्मेवारी मात्र नभएर अमानवियताको पराकाष्टा नै भएको धारणा राखे । दमाइले हिजो लड्न र मर्न आदेश दिने प्रचण्ड पार्टी अध्यक्ष अनि दुइतिहाइको सरकारका गृहमन्त्री रामबहादुर थापाको हातमा सबैथोक हुँदा पनि उल्टो अन्यायमा पर्नु दुर्भाग्य भएको बताउँदै भने, “हिजोको बलिदानीप्रति हाम्रो पूर्ण गौरव भए पनि आज यी नेताहरुको मनस्थिति देख्दा दुःख लाग्छ, अनि एकान्तमा प्रश्न उठ्छ के यीनै हुन त हाम्रा क्रान्तिका महानायक र नायकहरु ?”