रेडक्रसको कानुनी र व्यवस्थापकीय सुधार चाँडो गर्न गृहमन्त्री र सचिवको निर्देशन

काठमाडौं । गृह मन्त्री राम बहादुर थापाले रेडक्रसको कानुनी आधार सुदृढीकरणका लागि छिटोभन्दा छिटो गृहकार्य सक्न नेपाल रेडक्रस सोसाइटीलाई निर्देशन दिएका छन् । विधिवत् रुपमा निर्वाचित समितिलाई विगठन गरेर सरकारले रेडक्रसको तदर्थ केन्द्रीय कार्यसमिति निर्माण गरेलगत्तै पदाधिकारी र सदस्यलाई गृहमन्त्री थापाले सिंहदरबारमा भने, ‘नेपाल रेडक्रसलाई कानुनी हिसाबले मिलाउने र व्यवस्थित गर्ने कुरा नेपाल सरकारको प्राथमिकतामा छ ।’

भेटका अवसरमा नेपाल रेडक्रसको तदर्थ समितिका केन्द्रीय अध्यक्ष डा. विश्व केशर मास्केले कानुनी आधार बलियो बनाउन मस्यौदाको लागि काम सुरु गरिसकेको जानकारी गराए । रेडक्रसमा लामो अनुभव भएका व्यक्ति बर्तमान नेतृत्वमा रहेकाले छिटो छरितो काम हुने कुरामा गृहमन्त्री थापा आशावादी भएको उनले बताए ।

नेरेसोको टोलीले शुक्रबार नै गृह सचिव प्रेम कुमार राईलाई पनि भेटेको थियो । सचिव राईले पनि तीन महिना अगावै कानुनको मस्यौदाको काम सक्न नेरेसोका अध्यक्ष डा मास्के नेतृत्वको टोलीलाई निर्देशनात्मक आग्रह गरेका थिए । राईले भने, ‘रेडक्रस जस्तो सँस्थालाई व्यवस्थित गर्न कुरेर बस्ने समय छैन् । नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ । तर समयरेखा अनुसार गर्नुपर्ने काममा ढीलाई नहोस्, त्यो व्यवस्था मिलाउन महत्वपूर्ण छ ।’