केपी खनालः सोच बदल्ने अभियन्ता

O अक्षरपाटी विशेष

११, १२ वर्ष उमेरका बालबालिकाबाट के अपेक्षा गर्न सक्छौँ ? बढीमा आफ्नो लुगा आफै लगाइदेओस्, राम्ररी खाना खाएर विद्यालय गइदेओस् । ज्ञानी बनेर पढिदेओस् । स्वावलम्बी सँस्कार दिनसकिएन भने, सहरबजारमा हुर्केका, पुगिसरी आएका बालबालिकाले त्यो पनि नगरिदिनसक्छन् । सर्टको टाँक र घाँटीको टाईसमेत बुवाआमाले लगाइदिनुपर्ने हुनसक्छ ।

केपी खनाल भने १२ वर्षकै उमेरमा ‘समाज बदल्न’ निस्किसकेका थिए । भन्नेले त अहिले उनलाई ‘कान्छो अभियन्ता’ भन्छन् । १२ वर्षमै उनी सामाजिक काममा लागे । रेडियो टिकापुरमा वालआवाज कार्यक्रम चलाए । आफै बालबालिका भए पनि उनले गरिब वस्तिका बालबालिकाको आवज रेडियोबाट सबैलाई सुनाए ।

‘प्रहरी देख्दा डराउने’ काँचो उमेरमै उनले तत्कालीन प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारीलाई मात्र भेटेनन्, तत्कालनी शिक्षा मन्त्री, महिला तथा बालबालिका मन्त्रीसम्मलाई भेटे । बालबालिकाको अधिकार र शिक्षाका कुरा रेडियोमा गरे ।

कैलालीको लम्कीबाट १३ किलोमिटर टाढा दक्षिणमा रहेको टिकापुरको रेडियो टिकापुरमा उनी हरेक शुक्रबार साँझ पुगे । रेडियोमा बाल कार्यक्रम चलाए, उतै बास बसे । शनिबार घर फर्किए । यो क्रम उनको करिब ६ महिना चल्यो ।
सात कक्षा पढ्दापढ्दै उनी वर्षे विदा मनाउन पुख्र्यौली थलो अछाम गए । ‘तराईं झर्ने मनै लागेन’, उनले भने, ‘हजुरबा, अजुरआमाको मायाले तानेर पनि होला ।’ लम्कीमा रहेकी आमालाई उनले उतैबाट फोन गरे । यतै (अछाममा) पढ्छु भनेँ । आमा कराउनु भयो । रोजगारीका लागि भारतमा रहेका बुवाले उनलाई भन्नुभयो, –‘सबैले दुःखजिलो गरेर छोराछोरी तराईंमा पढाउँछन्, तँ हाम्रो नाक काट्न पहाडमा बस्ने भइस् ।’

बुवाको कुरा नमिठो त लाग्यो, तर मनमा छोएन । केपी अछाममै सात कक्षामा भर्ना भए । ‘पढाउन आउने शिक्षक दिउँसै विद्यालयमा पिएर आउँथे’, केपीले अठोट गरे, ‘यो अवस्था त रहनु हुँदैन, हटाएरै छोड्छु ।’ विद्यार्थीको पनि नियमितता र अनुशासन थिएन, घरको काम नभएको दिन विद्यालय आउने, भएको दिन आधा पढेर पनि निस्कने । यस्तै चलेको थियो ।
‘यो सबै देखेर मलाई निको लागेन । जिल्लामा रक्सी प्रतिबन्ध थियो तर शिक्षकले समेत पिएकै हुन्थे, त्यो पनि दिउँसै,’ केपीले भने, ‘मैले १०, १२ जना साथी जमा पारेँ । सरहरुका विरुद्ध कालो कपडा लठ्ठीमा बेरेर देखाएँ ।’ त्यो उनको कालो झण्डा थियो । उनको ‘सरहरु’ विरुद्धको यो बिरोध चार, पाँच महिना चलिरह्यो ।

‘गाउँभरी हल्लीखल्ली भएपछि अब त मेरा हजुरबा, हजुरआमालाई नै फकाइयो’, केपीले सम्झिए, ‘उहाँहरु नै अब मलाई अछाममा नराख्ने सोचमा पुग्नुभयो । तँ तराईँ गैजा भन्न थाल्नुभयो ।’ चिट चोरेको आरोपमा विद्यालयमा उनको पेपर खोसियो । ‘म फेल बनाइन्छु भन्ने पक्का लागेको थियो’, केपीले सात कक्षाको रिजल्टको दिन सम्झिए, ‘तर म कक्षाकै तृतीय भएँ ।’

रिजल्ट आएकै दिन उनी तराईँ झरे । फेरि पुगे कैलालीकै लम्की । के के गर्छु भनेर पहाड उक्लिएको मान्छे लाजले पुरानो क, ख पढेको राष्ट्रिय उच्च मावि बलचौरमा जान सकेनन् । उनी कालिका मावि लम्कीमा भर्ना भए । तर अछामबाट उनले समाजको सोच परिवर्तनको झिल्को भने छातीमै बोकेरै ल्याए ।

‘छोडेको ६ महिना भइसकेको थियो । फेरि रेडियो कार्यक्रम सुरु गरेँ’, उनले भने, ‘म विद्यालयमा पनि प्रथम र दृतीय हुने विद्यार्थीसँग बसेँ ।’ आठमा भर्नाभएपछि एक दिन विद्यालयमा जुनियर सर्कलका लागि रेडक्रसको निर्वाचन हुने भयो । १० कक्षालाई अध्यक्ष, नौलाई उपाध्यक्ष र आठलाई सचिव बनाइने भयो ।

‘मैले सचिवमा दावी गरेँ’, उनले स्कुलका दिन सम्झिए, ‘मेरो प्रतिद्वन्दी एकजना छात्रा साथी उठिन ।’ छात्रा त्यही विद्यालयकी लामो समयदेखिकी विद्यार्थी थिइन् । केपीलाई पक्का हार्छु भन्ने लागेको थियो । तर नतिजा यस्तो आयो, अध्यक्षकोभन्दा एक सय ८६ मत बढी ल्याएर उनी विजयी भए । केपीलाई झन उर्जा मिल्यो ।

‘पछि त मलाई साथीहरु जिस्याएर मन्त्री पो भन्थे’, केपीले तीं दिन सम्झिए, ‘एसएलसी दिएपछि मेरो वाध्यता भयो, भारत जाने ।’ भारत जानु उनका लागि रहर र वाध्यता दुबै थियो । रहर के भने, उनलाई एउटा फेसबुक चल्ने मोबाइल किन्नु थियो, बाध्यता घरको गरिबी । केपीका बुवा उतै थिए ।

‘बाबु हुँदाहुँदै पढ्न छोडेर भारत गयो भनेर गाउँमा बदनाम गर्ने भइस’ भन्दै उनका बुवा कराए । र पनि उनी भारतको मुम्बई पुगे । ‘मलाई सानो देखेर कसैले काम दिएन । पछि एउटा होटलमा मोरी (भाँडा माझ्ने) को काम पाइयो’, भाँडा माझेका दिन स्मृतिमा ताजै राखेका केपीले भने, ‘मैले मुम्बई मिरा भाइन्दरको अभिसेक होटल एन्ड रेस्टुरेन्टमा भाँडा माझेँ । त्यो तीन महिनाले मलाई स्कुलमा पढ्न नपाइने कुरा सिकाइदियो ।’

अहिले सहरबजारमा हुने बालमजदुर अन्त्यका अभियानबारे उनी गम्छन् । ‘बालश्रम अन्त्यका लागि धेरै सेमिनार, गोष्टी भए, हुँदैछन्’, उनले भने, ‘बालश्रम हटाउन गोष्ठीले हुँदैन । त्यस्ता बालकालिकाका अभिभावकको गरिबी र वाध्यता नहटाई एक ठाउँमा श्रम नगरे पनि अर्को ठाउँमा अर्कै तरिकाले श्रम गर्नैपर्ने रहेछ ।’

मुम्बईमा रहँदा उनी एकाबिहानै होटेल जान्थे । दिउँसो एक, दुई घन्टा फुर्सद पाउँथे । राती १२ बजे बसेरामा फर्कन्थेँ । ‘यता नेपालमा साथीहरु विद्यालयमा भर्ना भएको, पढेलेखेको सुन्दा दुई, तीन बजेसम्म निद्रा लाग्दैन थियो’, उनले भने । साहुले त उनलाई निकै माया गर्थे । ‘तँ यस्तो काम नगर, राम्रो गर्नसक्छस्’ भन्थे ।

‘तीन महिनामा १५ हजार कमाएँ, ६ हजारको मोबाइल किनेँ’, सायद उनले आफ्नै कमाइले पहिलोपटक स्क्रिनटच मोबाइल किनेको त्यो क्षण दुरुस्त सम्झिए, अनुहार शान्त र आनन्द देखियो । अनि भने, ‘अनि म नेपाल फर्किएँ ।’ गाउँ (लम्की)आएर उनी क, ख पढेकै आफ्नै गाउँको राष्ट्रिय माविमा कक्षा ११ मा भर्ना भए ।

अब उनी सांगठनिक रुपमै समाज परिवर्तनमा लागे । साथीभाइसँग मिलेर व्यवस्थित युवा जागरण मञ्च खोले । कतै दर्ता भने गरेनन् । नारा बनाए – युवा जागरण त, देश जागरण ।

० फेरि विसंगति अन्त्यको यात्रा

राष्ट्रिय माविमा कक्षा ११ मा भर्ना भएपछि केपी फेरि विकृति, विसंगतिको अन्त्य र सँस्कृतिको जगेर्नामा लागे । साँस्कृतिक कार्यक्रम गर्न थाले । खेलकुद आयोजना गरे । वडाअध्यक्षसँग मिलेर गाउँ सरसफाइ अभियान सुरु गरे । ‘आज केपी खनाल भनेर मलाई धेरैले चिन्छन्, खासै गर्भ लाग्दैन । तर त्यतिबेला गाउँमा मलाई फलानाको छोरो भनेर चिन्दा निकै खुशी लाग्थ्यो ।’

गाउँमा गरेको कामको चर्चाले केपीका बुवा शुसी हुनुभयो । त्यसपछि उनले ०७३ को दसैंमा ‘दशा लागेकालाई दसैं’ कार्यक्रम सुरुवात गरेँ । ‘त्यसमा मैले मेरो नगरपालिकाका १० जना गरिब, दुःखीलाई दसैंमा केही दिने सोच बनाएँ, फेसबुकमा त्यो आह्वानले दुई लाख ५० हजार उठ्यो’, उनले त्यो सफलता गर्विलो स्वरमा सुनाए, ‘मैले त थोरै रकम उठ्ला सोचेको थिएँ, सोचेभन्दा बढी उठ्यो, त्यसपछि त १० स्थानीय निकायका ५५ परिवारलाई लम्कीमा बोलाएँ । नवनिर्वाचित मेयर महादेव बजगाईँलाई स्टेजको तल राखेँ । गरिबलाई माथि । दसैंको दिन थियो, टिका लगाएर दाल, चामल, तेल वितरण गरेर दसैं मनाएँ ।’

० समाचारले तान्यो हुम्ला

लम्की बजारको एक चियापसलमा केपी साथीहरुसँग गफिदै थिए । पत्रिकामा हुम्लाको एउटा समाचार ‘चामलभन्दा सस्तो जीवन’ भन्नेमा उनको आँखा पर्यो । समाचारमा चामल ल्याउन बाजुरा गएका एक जनाको लडेर मृत्यु भएको घटना थियो । ‘अनि मैले ‘भोकै छ हुम्ला’ भन्ने नारा लगाएँ । ०७३ कै दसैंतिहारको बीचमा ३ लाख ५० हजार उठ्यो । म त्यो रकमले चामल, नुन, तेल, लत्ता कपडा लिएर बाजुराको मार्तडी पुगेँ’, उनले भने, ‘त्यसभन्दा उता गाडि नजाँदो रैछ । अब बढी खर्च लाग्ने भयो । समय पनि बढी । हिँडेर तीन दिन लाग्ने भयो । मैले १५, १६ वटा खच्चर भाडामा लिएँ । तीन दिनमा हुम्लाको अदानचुली गाउँपालिका पुगेँ ।’

त्यहाँ पुगेर केपीले २२ परिवारलाई तिहारको अघिल्लो दिन चामल, नुन, तेल वितरण गरे । फर्किएर बाजुरा पुग्न तीन दिन लाग्यो । उनको तिहार बाटोमै भयो ।

यता उनको प्लस टुको रिजल्ट आयो । उनी पास भए । अब उनलाई घर (लम्की)मा बस्न मन भएन । ‘घरको जिम्मेवारी मपछिकी बहिनीलाई छोडेर काठमाडौं आएँ’, उनले भने, ‘समाजसेवाले पेट पालिदैन भन्ने मलाई लागेको थियो, घरबाट पढेर केही हुँदैन, कतार, मलेसिया जा भन्ने दबाब थियो ।’

० क्याम्पस जाँदा उब्जिएको अभियान

काठमाडौं आएपछि उनी नेपाल कमर्स क्याम्पसमा भर्ना भए । नयाँ बानेश्वरको आलोकनगरबाट क्याम्पसको गेट पुग्दा उनले थोरबहुत काठमाडौलाई चिन्ने कोसिस गरे । ‘फोहर, धुलो, धुँवा र यहाँका मानिसले काठमाडौंलाई हेर्ने नजर बुझ्ने प्रयास गरेँ’, उनले भने, ‘काठमाडौंले धेरैलाई चिनायो, तर काठमडौंलाई कसैले चिनाउन कोसिस गरेको देखिन् ।’
विक्रस सम्बत २०७४ को पुस २७ आउँदै थियो । केपीले साथी कपिल ढकालको सल्लाहअनुसार ‘म बद्लिन्छु, अनि मेरो देश बदलिन्छ’ भन्ने नारा बनाए । यो उनले कुनै सप्ताह मनाउन होइन, हरेकले आफैबाट परिवर्तनका लागि थालिएको अभियान थियो भन्न रुचाउँछन् । ‘आफै नबदलिएसम्म केही बदल्न सम्भव छैन भन्ने लाग्यो’, उनले भने, ‘फोहोर नै नगर्ने बानीको विकास गर्न क्लिन काठमाण्डौं अभियान २७ गते १७ सय मानिसलाई सडकमा उतार्ने अठोट गरेँ ।’

अठोट त गरे, अब उनलाई डर लाग्यो । ‘म १७ वर्षको फुच्चे, राजधानी आएको केही दिन मात्रै भएको थियो’, उनले भने, ‘महिना पनि पुगेको थिएन । अरु के, म आफै छक्क परेँ ।’ तर उनलाई साथ पाइन्छ, पाइँदैन भन्ने थाहा थिएन् । उनले भेटघाटलाई निरन्तरता दिएँ । धेरैले चर्चाका लागि पनि भने । केपी लागिरहे । पौस २७ गतेको अघिल्लो रात उनलाई निन्द्र परेन । ‘मान्छे आइदेलान् कि नआइदेलान् भन्ने पीर भयो’, उनले सुनाए । अभियानको तयारीका क्रममा उनले एउटा साथ पाए, टेक्सस इन्टरनेशनल कलेजले ‘यस्तो अभियानमा लागेका छौ, ब्याचलर इन सोसल वर्क पढ, हामी टियूको एक्जाम फि बाहेक केही लिँदैनौ’ भन्यो ।

२७ गते ५ बजे बिहान कोटेश्वरको तीन कुनेमा केपी दुई, तीन जना साथीसहित पुगेँ । ६, ७ बज्दासम्म पनि कोही आएनन् । ७ बजेतिर एक, दुई तीन गर्दै अहिलेका मन्त्री लाबबाबु पण्डित, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, हालकी उपमेयर हरिप्रभाव खड्की, तीनवटै विद्यार्थी संगठनका अध्यक्ष, विभिन्न कलेज, संघ संस्थाका साथी उपस्थित भए । अभियान सफल भयो, उनलाई हरेकले धन्यवाद दिए ।

कतिपयले उनलाई यो पनि सोधे– यो अभियान कहिलेसम्म टिक्छ ? आज पनि उनको जवाफ हो – मेरो अन्तिम उद्देश्य काठमाडौंमा यो अभियान बन्द गर्नुपर्छ । सरसफाई सप्ताह चलाउने अवस्था सकिनुपर्छ । यसको मतलब काठमाडौंलाई फोहोर नै नगर्नु हो ।’

अब उनी देशका विभिन्न सहरमा अभियान लिएर पुगे । धनगढीमा उपमहानगरका मेयर नृप वड, उनीसँग निर्वाचनमा पराजित भएका गोपी हमालसहित सयौंलाई उनले सरसफाइका लागि सडकमा उतारे । टिकापुर, नेपालगन्ज, चितवन, जनकपुर, बिराटनगर, बिरगन्ज, राजबिराज, सप्तरी, धरान र फेरि काठमाडौंमा उनी सक्रिय रहे ।

० आश्रम निर्माण

जिल्लाको अभियानबाट काठमाडौं फर्किएपछि बाजुराको बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा स्थानीय कन्सर्न बाजुरा भन्ने संस्थाले नौ जना अनाथ बालबालिकालाई आश्रय दिइरहेको खबर उनले सुने । त्यहीबेला उनी बिरामी भए ।
आलोकनगरकी सफाइ अभियन्ता प्रमिला पौडेलले ‘ग्रिनसिटी अस्पिटल छ, त्यसले चक्रपथ सफाइ अभियान चलाइरहेको छ, त्यसका संचालक लोकबहादुर टन्डनलाई भेट्नु सहयोग गर्नसक्छन्’ भन्नुभयो । उनी त्यहाँ पुगे । केपीलाई एपेन्डिक्स भएको रहेछ । अस्पतालले फ्रिमा उपचार गरिदियो । ‘उपचार गरेको एक महिनापछि म संस्थाका संस्थापक गणेश थापासँग बाजुरा गएँ । कन्सर्न बाजुराका अध्यक्ष बहादुर थापालाई भेटेँ’, उनले भने, ‘थापाले धेरै आए, कसैले हेरेन भन्नुभयो ।’ उनले त्यहाँ सहयोग गर्न आएको होइन भने । ‘तपाईँले मलाई विश्वास गर्नुभयो, जनताले मलाई विश्वास गरे भनेँ, म काम गर्छु भनेँ’, उनले सम्झिए, ‘०७५ वैशाख २५ मा मैले आफै आश्रमको शिलान्यास गरेँ । स्थानीय बासिन्दाले जग्गा दिए ।

काठमाडौं फर्किएँ । सहयोगको आह्वान गरेँ । ५० लाखको अनाथ आश्रम निर्माणको अभियान थालेँ ।’ आश्रमका लागि ४२ लाख उठिसक्यो । तीनवटा चार कोठे भवन, तीनवटा अलग सौचालय र स्नानगृहसहितको आश्रम निर्माण भयो ।
‘म आइडल बन्न यो सबै गरिरहेको छैन, युवाले उदाहरण बन्नुपर्छ भन्ने लागेर यो सब गरेको हुँ’, उनले भने, ‘मैले गर्ने काम राज्यले केही गरेन भन्ने गुनासोको उपज होइन, राज्यलाई हामीले सहयोग गर्ने हो । मैले पनि सकारात्म कदमबाट राज्यलाई झकझक्याएको मात्र हुँ ।’ उनको अभियानको अर्को उद्देश्य युवाले केही गर्न सक्दैन भन्ने सोचको सफाइ पनि हो ।
अचेल उनी रात्रीकालिन सफाइ अभियानमा छन् । ‘हामी राती १२, एक बजे पनि सफाइ गर्न जान्छौँ । काठमाडौंमा फोहोर उठेन भनेर हामीले सिंह दरबारको मुल गेटमा फोहोर फाल्यौँ’, यसो गर्दा उनलाई समस्या हुँदैन ?, ‘सबैभन्दा अप्ठेरो भनेको, मान्छेको हामीप्रतिको सोचाइ नै हो । एक दिनको अभियानले सफा हुँदैन भन्ने सोच अप्ठेरो हो । हामी सोच सफाको अभियानमा छौँ ।’

अर्को तिमी कहाँबाट आएको ? भन्दा केपीसँग पेस गर्न वैधानिक आधार छैन । ‘हामीले राम्रो काम गरेको दुई वर्ष हुँदा राज्यले आधार दिएको छैन’, भने, ‘नराम्रो तरिकाले दबाब दिँदा राज्यले तुरुन्त सुन्छ । राम्रो काम नदेखिदिनु गाह्रो कुरा हो ।’

आँखिर केपीको उद्देश्य के हो त ? जिज्ञासामा उनी भन्छन्, ‘अब धेरैले चिन्छन्, पहिला मेरो उद्देश्य परिवारको आवश्यकता पूर्ति थियो । अब समाज, देश परिवारको उद्देश्यलाई आफ्नो पनि बनाएको छु । म यो, ऊ गर्छु भन्दिन्, यति पक्कै हो, म आज राम्रो काम गरिरहेको छु, भोली पनि झन राम्रो काम गर्नेछु ।’ उनी दुःखी पनि हुन्छन् । जब युवाहरुले आफ्नो स्वार्थ र स्वाभिमान ठूलो, देशको स्वाभिमानलाई वास्ता नगरेको देख्छन् । भन्छन्, ‘हामी बुद्धको देश भन्छौँ, बुद्धि नपलाएको हो कि ? म सगरमाथाको मान्छे भन्छौँ, सगरमाथाको उचाइ फैलाउन कोसिस गरिरहेका छैनौँ ।’

-युवामञ्च मासिकबाट शिवराज योगीको आलेख