निर्मला हत्या प्रकरण : गृहमन्त्री र प्रधानमन्त्रीको बोली एउटै, हत्यारा पत्ता लगाउन वर्षौं लाग्नसक्छ

चितवन । निर्मला हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको अभिब्यक्ति एउटै प्रकृतिको आएको छ । प्रधानमन्त्री ओलीले अपराधि बाह्र बर्ष पछि पनि पत्ता लागेको अभिब्यक्ति दिइरहेका बेला गृहमन्त्री थापाको पनि त्यस्तै आएको हो ।

बुधबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा मन्त्री थापाले निर्मला हत्या प्रकरणका बारेमा बोल्दै यस्ता घटनामा सरकारले चाहेर मात्रै छिटो निचोड आउन नसक्ने बताए । उनले कयौं अपराधीहरु १३ वर्षपछि पनि कठघरामा आएको बताउँदै सरकारले चाहँदाचाहँदै पनि टाइम लिन सक्ने अभिब्यक्ति दिएका छन् ।

बलात्कारपछि हत्या गरिएकी पन्तको विषयमा अनावश्यक रुपमा राजनीतिकरण हुन थालेको पनि उनको आरोप छ । निर्मला प्रकरणमा कसरी राजनीति घुस्यो भन्ने पत्रकारको प्रश्नमा मन्त्री थापाले ‘यस्ता निर्मला भनेका हाम्रो समाजमा सयौं छन् जो बलात्कृत भए । तथ्याङ्कले के देखाउँछ भन्दा यो सरकार आउनुभन्दा अघि र त्यो भन्दा अघि पनि सयौंको संख्यामा हाम्रा दिदी बहिनीहरु बलात्कृत भए । त्यस्ता घटनामा सरकारले कानुनी कारबाही गर्दै आएको छ ।’

निर्मलाको हत्या भएको महिनौ बिति सकेको छ भने उनको हत्यारा पत्ता लगाउँन माग गर्दै देश भर लामो समयदेखि आन्दोलन चलिरहेको छ । सरकारले उनको हत्यारा पत्ता लगाउन नसकिरहेको बेला गृहमन्त्री थापाको यस्तो अभिब्यक्ति आएको हो ।

उता गृहमन्त्री थापाले भने देशभर हुने यस्ता प्रकृतिका घटनामा सरकारले ९५ प्रतिशतभन्दा धेरै घटनामा अपराधीलाई कानुनी दायरमा ल्याएको दावी गरेका छन् ।