सुदूरपश्चिमबाट सुरु भएको हावाहुरीले शुक्रबार विहानै काठमाडौंको धुलो बडार्यो

कैलाली र कञ्चनपुरमा हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन सुरु, दुई जनामो मृत्यु, ९० भन्दा बढी घाइने

धनगढी । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आठबजेतिर सुरु भएको करिब ४० मिनेट लामो हावाहुरीसहितको वर्षाले दुई जिल्लामा करिब १०० जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन कार्य जारी छ। कैलालीका टिकापुर र गोदावरी नगरपालिका तथा कञ्चनपुरका बेदकोट र भीमदत्त नगरपालिकामा बढी क्षति पुगेको जिल्लाका दैवी प्रकोप राहत तथा उद्दार समितिले जनाएको छ ।

कैलाली जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलालीमा हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा बा३प ३८३६ नम्बरको टिपरसँग से२१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरी र कैलालीकै टिकापुर नगरपालिका २ राजीपुरकी ४७ वर्षिया लाहानु चौधरी छन्। लाहानुको कुखुराको खोरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीलीले जनाएको छ ।

बिहानसम्ममा उद्धारको काम सकिएको र क्षतिको लगत संकलन सुरु गरिएको छ , पछिल्लो जानकारी अनुसार सेती अञ्चल अस्पतालसहित जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका ७७ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। ६६ जनालाई सामान्य उपचारपछि घर पठाइएको र अन्यको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।

हावा हुरीले धेरै घरहरुका छाना उडाएका तथा कतिपय स्थानमा भने घर नै ढलाएको छ । कचनपुरमा घाइते भएका २३ मध्ये ८ जनालाई सेती अञ्चल अस्पताल रिफर गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार ८ घाइतेमध्ये ११ वर्षीया बालिकाको अवस्था चिन्ताजनक छ। उनको टाउकोमा चोट लागेको छ।

घोडाघोडीमा चट्याङ लागेर अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । घोडाघोडी नगरपालिका ३ जुरपानीकी १७ वर्षिया जानुका चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमको कैलालीबाटबिहीबार साँझ सुरु भएको हावाहुरी शुक्रबार एकाविहानै काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान विपरित हावाहुरी काठमाडौं हुँदै उत्तर लागेको हो ।

कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी शुक्रबार विहान काठमाडौं आइपुगेको हो । विहानै आएको हावाहुरीले काठमाडौंको धुलो सफाचट बनाएको छ ।