प्रदेश ७ को नाम सुदूरपश्चिम नै राखिनु दुर्भाग्यपूर्ण : नेता बलायर

डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम नै राखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको बताएका हुन् ।

उनले यसरी नाम राखिनुले सात नम्बर प्रदेशका सांस्कृतिक धरोहर र सम्पदाहरुको अवमूल्यन समेत भएको बताए । ‘हाम्रा पहिचान बोकेका तमामो तमाम सम्पदा छन्’, उनले भने, ‘उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु पनि राख्न सकिन्छ । तर सुदूरपश्चिम नै किन ?’

बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी राख्ने निर्णय भएकोमा पनि आपत्ति जनाए ।

यस्तै अर्को प्रसंगमा बोल्दै नेता बलायरले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा बम दिदी–बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरे ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसद्वारा गठित टोलिमा बलायर पनि आवद्ध थिए ।