ढलान भत्किँदा तीन मजदूरको मृत्यु

दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ।

उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए।

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन्। जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ। दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।