जयतु संस्कृतम् : राणाविरोधी आन्दोलनको सम्झना

काठमाडौं । राणा शासनविराधी आन्दोलनका क्रममा २००४ सालमा भएको ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरिएको छ। यस क्रममा बिहान प्रभातफेरी आयोजना गरिएको छ। राजधानीको प्रदर्शनीमार्गबाट सुरु भएको प्रभातफेरी सहरका विभिन्न भाग हुँदै जमलस्थित जयतु संस्कृतम्को स्तम्भमा पुगेर समापन भएको थियो।

जयतु संस्कृतम्लाई नेपालको पहिलो विद्यार्थी आन्दोलन मानिन्छ। यो आन्दोलनले नै देशमा जहानियाँ राणाशासन विरोधी आन्दोलनको पृष्ठभूमि तयार पारेको थियो।

राणा शासन विरोधी गतिविधि गरेको अभियोगमा १९९७ सालमा चार जनालाई मृत्युदण्ड र केही प्रजातन्त्रवादी युवालाई सर्वस्वसहित कारावास सजाय भएको थियो। त्यसबाट विद्यार्थी भित्रभित्रै आक्रोशित थिए। अनि आन्दोलनको झिलको तीनधारा पाकशालामा प्रवेश गरेको थियो।

सरकारले पाकशालाका आन्दोलनकारीमध्ये चार जनालाई डाँडा कटाएको थियो। २००४ सालमा त्यो आन्दोलन शिक्षा सुधारको मागसहित ‘जयतु संस्कृतम्’ को नाममा राजधानीको मूल सडकमा ओर्लिएको थियो।

तत्कालीन सरकारले आन्दोलनकारी विद्यार्थीमाथि कडा रूपमा प्रस्तुत भयो। माथिल्ला तहका विद्यार्थी नेतामध्ये केहीलाई देशबाटै लखेटियो, केहीलाई चारभन्ज्याङ कटाइयो। ‘जयतु संस्कृतम्’ आन्दोलनपछि दमन र निष्कासनमा परेका विद्यार्थी सशक्त रूपमा राणाविरोधी आन्दोलनमा जुटे र २००७ सालमा राणाशासन नै ढल्यो।

स्वतन्त्रता प्राप्तिको संघर्षका लागि जयतु संस्कृतम्को मुख्य भूमिका रहेको यसका अभियन्ता बताउँछन्। जयतु संस्कृतम् संस्थाका महासचिव डा. नवराज कट्टेलले भने, ‘हामीले आज क्रान्ति दिवसका रूपमा मनाएका छौं। साथसाथै अब संस्कृत भाषा विस्तारको आन्दोलनका रूपमा पनि यसलाई लिनुपर्छ।’

उनका अनुसार विश्वमा संस्कृत पठनपाठनको लहर चलेका अहिले यसको सान्दर्भिकता झनै बढेको छ। उनले भने, ‘नेपाली भाषासाहित्य संस्कृतिको जरो संस्कृत हो। त्यसैले हामीले संस्कृत सबैका लागि, सबै संस्कृतका लागि नाराका साथ यो दिवस मनाउँदै आएका छौं।’ मानव समुदायलाई, स्वतन्त्रता, न्याय, अधिकार, कल्याणकारी भावना, विचार र सन्देश प्रवाहित गर्ने उद्देश्यले २०५४ सालदेखि यो दिवस मनाउन थालिएको संस्थाले जनाएको छ।