सुदूरपश्चिम सरकारको बजेट २८ अर्ब

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा यहाँको कृषि, सडक, खानेपानी, सिँचाई, उर्जा, तटबन्ध आदिलाई प्राथमिकता दिएको छ। चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ ।

मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत ‘नमुना कृषि गाउँ आफै बनाउँ’ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष’का लागि समेत बजेट बिनियोजन गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड विनियोजन गरिएको छ ।

सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर र आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ । यद्यपि चालु वर्षका लागि तय भएका प्रदेशका महत्वाकांक्षी योजना भने कार्यान्वयनमै जान सकेका छैनन् । सरकारको चालू वर्षको बजेट खर्च पनि निराशाजनक छ ।