समता अस्पतालमा युवती मृत भेटिएपछि तोडफोड

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा मंगलबार त्यहीँ कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेपछि अस्पतालमा तोडफोड भएको छ ।

रामेछापको दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

युवती मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तीं युवती दुई महीनादेखि सोही अस्पतालमा काम गर्ने भन्ने बुझ्नमा आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उनले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।