धनगढी उप–महानगरको बजेट करिब डेढ अर्ब

धनगढी । धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति , कार्यक्रम तथा बजेट आइतबार पेस गरेको छ । चौथो नगरसभामा उप–महानगरपालिकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले इब अबए ४८ करोड चार लाख ४८ हजारको बजेट पेश गरेकी हुन ।

चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार एक ६६ रुपैयाँ र पूँजिगततर्फ ८१ करोड ६८ लाख पाँच हजार आठ सय ३३ रुपैयाँ छुट्यइएको छ । नगरसभा अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यो रकम नगरसभाले अनुमोदन गर्नुपर्ने बताए ।

बजेट तथा कार्यक्रमले पूर्वाधार विकासमा सुधारिएको सडक, कृषिमा आधुनिकीकरण तथा ब्यावसायिकरणलाई विशेष जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, स्वास्थ्य सेवालाई गुणस्तरीय तथा सर्वसुलभ बनाउने, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा जोड, सामुदायिक वनको संरक्षण तथा ब्यवस्थापन र प्राकृतिक बिपद् तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको छ ।

कृषीतर्फ जैविक खेती, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिकादेवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकासतर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् ।

पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न करिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम छन् ।

सामाजिक विकास तर्फ वालबालिका, किशोर किशोरी संग उप–मेयर कार्यक्रम, शिक्षातर्फ असहाय र बिपन्नसंग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम संचालन गर्ने भनिएको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले स्थानीयतहले अवलम्वन गर्ने सबै प्रकृया पुरा गरेर, नगरवासीका मागहरुलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको बताइन् ।