सरकारीभन्दा सस्तोमा रेडियोलोजी सेवा !

काठमाडौं । मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन शुरु गरेको बताएको छ ।

विसं २०५६ देखि रेडियोलोजीअन्तर्गतका एक्सरे, अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआई सेवा निजीस्तरबाट उपलब्ध गराउँदै आएको थियो । सेन्टरका प्रशासकीय अधिकृत रवीन बस्न्यातले एमआरआई सेवा सात हजार, सिटी स्क्यान दुई हजार ६०० देखि नौ हजार १०० सम्म, अल्ट्रासाउण्ड ८००, मेमोग्राफी एक हजार ५०० र डेन्टल ओपिजी ९०० मा उपलब्ध गराउन शुरु गरिएको जानकारी दिए ।

ती सेवाको दर सरकारी अस्पतालले प्रदान गर्ने दर भन्दा सस्तो रहेको दावी गरिएको छ । सेन्टरका गतिविधिका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले रेडियोलोजी सेवा नाफामूखीभन्दा गरीब जनताको सेवा भावले सञ्चालन भएको जानकारी दिए ।

न्याम्सअन्तर्गतको वीर, त्रिविवि शिक्षण, निजामती लगायतका अस्पतालमा अहिले पनि विशेष गरी एमआरआई सेवा लिन बिरामीले कम्तिमा दुई हप्ता पालो कुर्नुपर्ने बाध्यता छ ।

‘बिरामीले आफूले चाहेका समयमा तत्काल रेडियोलोजी सेवा उपलब्ध गराउनु हाम्रो ध्येय छ । बिहान सेवा लिनेलाई साँझ र साँझ सेवा लिनेलाई भोलिपल्ट बिहान रिपोट दिन्छौँ । यहाँ आएपछि पालो कुरिरहनु पर्दैन’, बस्न्यातले भने । सेन्टरमा रेडियोलोजिष्ट प्रा डा निर्मल न्यौपाने, प्रा डा रिन्की न्याछ्यो, प्रा डा शर्मा पौडेललगायत चिकित्सकले सेवा प्रदान गरिरहेका छन् ।

उनीहरु चिकित्सा अध्ययन संस्थानबाट रेडियोलोजीमा एमडी प्राप्त चिकित्सक हुन्। सो विषयमा स्वर्णपदक विजेता प्रा डा न्यौपानेले यहाँको रेडियोलोजी सेवा सरकारी दरको भन्दा सस्तो रहेको जानकारी दिँदै बिरामीलाई आफूले चाहेको सयममा सेवा दिन सेन्टर सफल रहेको दाबीसमेत गरे ।

पछिल्लो समय अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई तथा पेट स्क्यान उपकरणको आविष्कारसँगै रेडियोलोजी सेवाले फड्को मारेको छ । अस्पतालमा सेवा लिन जाने बिरामीको आवश्यकतानुसार प्रारम्भिक परीक्षण मुख्यतया एक्सरे जाँचबाट हुन्छ । हाड जोर्नी भाचिएका, छातिमा संक्रमण आदिको परीक्षणमा एक्सरे जाँचले प्रारम्भिक समस्याको पहिचान गर्न सहयोग पुग्ने चिकित्सकले जनाएका छन् ।

रेडियोलोजिष्ट प्रा डा न्यौपानेका अनुसार अल्ट्रासाउण्ड अति सुक्ष्म ध्वनिको प्रयोगबाट शरिरको अङ्गमा जाँच गर्ने आधुनिक उपकरण हो । गर्भाअवस्थादेखि भ्रुण, सुत्केरी अवस्थासम्म आमा तथा नवजात शिशुको समस्या पहिचान, पेट, स्तन लगायतको अल्ट्रासाउण्डबाट रोगको पहिचान गर्न सजिलो हुन्छ ।

सिटी स्क्यानले विशेष गरी चोटपटक (ट्रमा)का समस्या पहिचान गर्न सजिलो हुन्छ । मस्तिष्कमा रगत जमेमा, हड्डी तथा करङ भाचिएको तुरन्त पत्ता लगाउन यही उपकरणको सहयोग लिइन्छ ।

यसैगरी चुम्बकीय शक्तिबाट सञ्चालन हुने अति उच्चस्तरको प्रविधिका रुपमा रहेको एमआरआईको सहायताले स्नायु, मेरुदण्ड, हाडजोर्नीलगायत रोग पहिचान गर्न यसको प्रयोग हुन्छ । यसको सहयोगले नरम तन्तु स्पष्ट देखाउछ । ‘हामीले पछिल्लो समय दक्षिण एशियाकै उत्कृष्ट एमआरआई उपकरणबाट सेवा दिइराखेका छौँ’, प्रशासकीय अधिकृत न्यौपानेले दावी गरे ।

-रासस