एकैसाथ अन्तरिक्ष पुगे २४ भूउपग्रह

संयुक्त राज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ भूउपग्रह अन्त्रिक्षमा छाडिएको छ।

विश्वकै धनाढ्यमध्येका एलन मस्कको अगुवाइमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कनहेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको हो। निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ।

अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कनहेभी प्रक्षेपण गरिएको थियो। फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो।

स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण थियो र, यसमा करिब छ घन्टा लागेको थियो।

स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई यसपटक पुनः प्रयोग गरिएको हो।

अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ। रासस/सिन्ह्वा