विकास र परिवर्तनका लागि जनताको साथमा छु : भट्ट

बनबेहडा । समृद्ध गौरीगंगा नगर विकासको आधार : कृषि, जैविक बिबिधता , पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ छैठौं नगर सभाको सोमबार एक समारोहकाबीच पूर्वमन्त्री कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लेखराज भट्टले उदघाटन गरेका छन्।

नगर सभा उदघाटन गर्दै पूर्वमन्त्री भट्टले विकास र परिवर्तनका लागि आफू जनताको साथमा रहने बताएका छन्। समग्र विकासका लागि सपना देख्न हुने तर घरातल छोड्न नहुने बताए। धेरै ठुला सपना देखेर पुरै नहुनु भन्दा पूरा हुने कुरा र सम्भावित कुरालाई मात्र अघि सार्न उनको आग्रह छ।

नगर सभामा राष्ट्रिय सभाका सदस्य हरि चौधरीले बजेटले मात्र समग्र समाजको विकास नहुने भन्दै देशको नीति निर्माणले विकासको खाका तयार हुने बताए। त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री माननीय दिर्घ सोडारीले गौरीगंगाको दीर्घकालीन योजना बनाएर प्रदेश राजधानीसँग जोडिएको नगरको रिङरोड बनाएर नमुना नगर बनाउन सकिने बताए। एक फरक प्रसंगमा पूर्वमन्त्री सोडारीले बाह्रबन साझेदारीको बनको बिषयमा आफू सकारात्मक रहेको तर लेखा व्यबस्थापनका बिषयमा उद्योग, वन तथा बाताबरण मन्त्रालयमा पेश गरिसकेकाले स्पष्ट पारे।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेश जोशीले नगरको चौतर्फि विकासमा नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताएका थिए। उनले कांग्रेसले विकास चाहदा चाहदै पनि सरकार विकास विरोधी रहेकाले सोचेअनुरुप उपलब्धि हासिल हुन नसकेको बताए।

यस्तै नगर उप-प्रमुख अञ्चला चौधरीले आर्थिक बर्ष २०७६/७७ को अनुमानित ६१ करोड ९५ लाख १४ हजारको प्रस्तावित आयव्यय प्रस्तुत गरेका थिए। सभा अध्यक्ष नगर प्रमुख भिमबहादुर देउवाले नगरको मुहार फेर्न आफू लागि परेको बताए। यसका लागि जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी सबै बाट लिइएका सल्लाहका आधारमा बजेट ल्याइएको बताए।