रेडक्रस ऐनको मस्यौदा बनाउन डाक्टर दासको नेतृत्वमा समिति

असार ६ को निर्णय बुधबार सार्वजनिक

काठमाडौं । रेडक्रस ऐनको मस्यौदा आगामी साउन मसान्तभित्र तयार गर्न समाजसेवी डा गौरीशंकर लालदासको संयोजकत्वमा रेडक्रस ऐन मस्यौदा तयारी समिति गठन गरिएको छ । समितिको सदस्यमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रा सुदर्शनप्रसाद नेपाल, सुरेन्द्रसिं ऐर, मनोजकुमार थापा, सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सदस्य, राजदेव यादव छन् । कास्की रेडक्रसका सभापति डोलराज पाण्डे, नेरेसोका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुबेदी ढुङ्गाना पनि समितिमा सदस्य छन् । समितिको सचिवको जिम्मेवारी रेडक्रसका कानुन संयोजक विजय दाहाललाई दिइएको छ ।

६ असारमा बसेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६ औँ बैठकले संस्थाको कानुनी आधार बलियो बनाउन सो निर्णय गरेको हो । २७६ औँ बैठकका निर्णयहरु बुधबार मात्रै सार्वजनिक गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गठन गरिएको तदर्थ केन्द्रीय कार्यसमितिबाट यसअघि गठन गरिएको समितिमा समेत डा दास संयोजक थिए । समितिका सदस्इहरु भने फेरबदल गरिएको छ ।

यसअघि तदर्थ केन्द्रीय कार्यसमितिबाट गठन भएका अन्य सवै समितिहरु र नियमावलीहरुमा गरिएका हेरफेरलाई बर्तमान समितिले खारेज गरिदिएको छ । अदालतको स्टेअर्डपछि पुर्नवहाली भएका रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ ‘विक्रम सम्बत २०७१ चैत्र ३० गते निर्वाचित यस कार्यसमितिले गठन गरेकै विभिन्न समिति तथा सञ्चालक समितिहरू, नीति, नियमावली र निर्णयहरूलाई यथावत् कायम राखी परिचालन, कार्यान्वयन र मान्यता दिने बैठकले निर्णय गरेको छ ।’

अदालतप्रति सम्मान व्यक्त
संस्थाको वर्तमान केन्द्रीय कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७६ जेठ ६ गतेको पत्रद्वारा विघटन गरी तदर्थ समिति गठन गरेको विरूद्ध सर्वोच्च अदालतमा गरिएको रिट निवेदन उपर सर्वोच्च अदालतबाट सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय ‘कार्यान्वयन नगर्नु नगराउनु’ भनी गरेको अन्तरिम आदेशलाई नेरेसोको बैठकले सम्मान व्यक्त गरेको छ ।

सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गरी कानुनी प्रकृयामार्फत् वर्तमान केन्द्रीय कार्यसमितिको पुनर्बहाली गराउन कार्य समितिका अध्यक्षको हैसियतले संजीव थापाले पहल गरेका थिए । उनको पहल र समन्वयकारी भूमिकालाई बैठकले धन्यबाद दिएको छ ।

आन्तरिक अध्ययनका लागि समिति
संस्थाको लागि जग्गा खरिद र रक्तसञ्चार सेवाको भवन निर्माण सम्बन्धमा भएका निर्णयका बारेमा उठाइएका केही विषयहरुमा आन्तरिक अध्ययन र समीक्षा गरी केन्द्रीय कार्यसमिति प्रष्ट हुन केन्द्रीय सदस्य ललितजंग शाहीको संयोजकत्वमा एक समिति गठन गरिउको छ । केन्द्रीय सदस्य भूपतिलाल श्रेष्ठ र बिनोदकुमार बस्नेत सो समितिका सदस्य छन् । समितिले साउन मसान्तभित्र प्रतिबेदन बझाउनुपर्ने छ ।

अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा संस्थाको बैँक खाता सञ्चालन विधान बमोजिम हुने र पाँचलाख सम्मको चेक हस्ताक्षर गर्न अख्तियार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । पौडेलले भने, ‘यसका साथै अध्यक्ष र कोषाध्यक्षको अनुपस्थितिमा खाता सञ्चालनको वैकल्पिक व्यवस्था पनि गरिएको छ ।’

बैठकले मिति २०७६ वैशाख २३ गतेदेखि २५ गतेसम्म धरानमा सम्पन्न गर्न आह्वान गरिएको केन्द्रीय सभाको ४८ औं महाधिवेशनको लागि नेरेसो सुनसरी जिल्ला शाखाले आतिथ्य स्वरुप गरेको आवश्यक सम्पूर्ण तयारी व्यवस्थित एवम् प्रशंसनीय देखिएकाले सुनसरी जिल्ला शाखाप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पत्रको निर्देशन बमोजिम अन्तिम घडीमा आएर अधिवेशन स्थगित गरिएको थियो ।