इराकमा बम आक्रमण, पाँच सैनिकको मृत्यु

एजेन्सी । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले सो जानकारी दिएका हुन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा हालेको छ । आक्रमणकारीको खोजी कार्यमा प्रहरी जुटेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतंककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीय रुपमा सुधार आएको बताइन्छ । यद्यपी ग्रामीण इलाकामा अझै पनि आइएस आतंककारीले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।