तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

एजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मंगलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

गोलरान जिल्लामा तालिबानहरुले मंगलबार राती गरेको आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएको उल्लेख छ ।

आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताएका छन् । तर प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् । तालिबान लडाकू समूहले पनि यस आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् ।