डोकेबजार घटनालाई लिएर काङ्ग्रेसद्वारा आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले असार १० गते डोकेबजारमा काङ्ग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको जनाएका छन् ।

घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको काङ्ग्रेसले जनाएको छ ।

घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । काङ्ग्रेसले घटनालाई गम्भीर रुपमा लिइ दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

खानेपानी मन्त्री बीना मगर कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जानलाग्दा काँग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । उक्त घटनामा काँग्रेसका दर्जनबढी कार्यकर्ता घाइते भएका थिए भने नेकपाका केही कार्यकर्ता सामान्य घाइते भएका थिए । मन्त्री मगरको सुरक्षामा खटिएका शुरक्षाकर्मी र मन्त्री मगर घटनामा रमिते भएको आरोप काँग्रेसले लगाउँदै आएको छ ।