पूर्व-पश्चिम राजमार्गलाई एडीबीको करिब २१ अर्ब

काठमाडौं। एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ ।

बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात सुदृढ हुनुका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले लिएको छ ।

बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गर्दै उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ ।