पानी माग्दै देवताको शरणमा

डोल्पा । लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन्। बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन्। लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले बताए।

मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेघले समेत तपस्या गरेको हिन्दूहरूको आस्थाको धार्मिकग्रन्थ श्रीस्वस्थानीमा समेत वर्णन गरिएकाले पनि भगवतीलाई वर्षात्का देवीको रूपमा समेत लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए।

मन्दिरको फेदमा रहेको सिम कुनामूलस्थित मुहान, रल्ली सिमकुना मुहान र गल्लीस्थित भगवतीको गुठी जग्गामा रोपिएका धान खेतमा हिलो खेलेर आकाशतर्फ मन्दिरमा नित्यपूजा गरेर जल छर्कने गरिन्छ। डोल्पामा आकाशे पानीको भरमा खेती गरिँदै आएको छ।

जिल्लाका त्रिपुरासुन्दरी, मुड्केचुला गाउँपालिका र ठुलीभेरी नगरपालिकामा पानी नपर्दा किसानको खेतबारीमा लगाएको बाली सुकेको छ। उत्पादनका हिसाबले निकै कम उर्वरभूमि रहेको डोल्पामा अधिकांश आयातित वस्तुले यहाँका स्थानीयवासीको दैनिकी चलेको छ। यहाँको ३० प्रतिशत भू–भागमा मात्र सिँचाइ सुविधा छ। यहाँको मुख्य बाली मकै, कागुनु र उवा सिमी हुन्।