संकटमा कुमाल पेशा

लमही । पहिले-पहिले माटाका भाँडा प्रशस्तै हुन्थे, तर अब प्लाष्टिकले बजार लिइसकेको छ।

माटाका भाँडाकुँडा बनाउन युवाको चासो घट्दै जाँदा यो पेशा नै संकटमा भएको दाङका प्रेम कुमाल बताउँछन्।

दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा संकटमा पुगेको छ। ‘लामो समयदेखि हामी वृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर काम गर्न सक्दैनौं,’ उनी भन्छन्, ‘युवाले पनि यो पेशा अँगालेका छैनन्, यसले गर्दा अहिले संकटमा पुगेको छ।’

युवालाई माटोका भाँडा बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालिम प्रदान गरिए पनि सिकेको कुरा व्यवहारमा नउतार्दा पेशा नै संकटमा परेको बताउँछन्, अर्का थारु अगुवा महादेव कुमाल। ‘हामीले छोराछोरीलाई माटोको भाँडा निर्माण गर भनेर भन्छौँ, ’ उनी बिलौना गर्छन्, ‘उल्टै उनीहरू हामीलाई थर्काउँछन्।’

अहिले पनि बजारमा माडाका भाँडाको माग हुने गरेको भए पनि त्यहीअनुसार माटाका भाँडा तयार गर्न नसकिएको उनको भनाइ छ।

दाङको तुलसीपुर–७ प्रसेनीमा करिब ३०० कुमाल समुदायको बसोबास छ। ती कुमाल समुदायले पुर्खादेखि नै माटोका भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए।

अब युवालाई माटोका भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा युवा दीपक कुमाल बताउँछन्। रासस