बाढीपीडितको उद्धारमा लाग्न काँग्रेसको निर्देशन

काठमाडौं । देशका अधिकांश भागमा आएको अविरल वर्षा र बाढीले पुर्याएको क्षति र त्यसबाट पीडित जनताको उद्धारमा खट्न काँग्रेसले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसले बाढी पहिरोबाट एक दर्जनभन्दा बढीको जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेको छ । पार्टीले विज्ञप्ति निकाल्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले बाढी पहिरो पीडितहरुको उद्धार तथा राहत वितरणमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको हो । विभिन्न स्थानिय निकायसँग समन्वय गरी राज्यका सबै निकायलाई युद्धस्तरमा परिचालन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक विपतको यो घडीमा आम नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपत व्यवस्थापनमा जुटन अपिल गरेको छ । काँग्रेसको आजको बैठकमा पार्टी नियमावली २०७६ को विषयमा केन्द्रित रही छलफल भएको थियो । केन्द्रीय समितिको अर्को बैठक २९ गते आइतबार विहान ११ बजे बस्ने पार्टीले जनाएको छ ।