प्रसुति गृह र वीर अस्पतालका भवनको पुनर्निर्माण

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरेका छन् ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसुति गृहमा एक सय ८२ शैया छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसुति गृहले पु¥याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसुति गृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसुति गृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि आज उद्घाटन गरिएका जस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताए ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालहरुबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गरे ।

प्रसुति गृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनः विस्तार भएको बताए ।

२०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।