रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार साँझ उद्धार गरिएको छ। बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो। दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो। प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर आउन सकेको थिएन।

मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए। गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए। रासस